HomeAI & ML

चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७

चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७

काठमाडौ,नेपाली चलचित्र क्षेत्रका लागि बर्ष २०७७ इतिहासकै कालो बर्ष बन्यो । कोरोना महामारीका कारण गतबर्षको फागुणदेखि नै सुस्ताएको चलचित्र क्षेत्र य

नेपाल प्रवेश गर्न नदिएपछि अमेरिका नै फर्किए भ्वाइस विजेता किरण गजमेर
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)
‘मिस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् मिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौ,

नेपाली चलचित्र क्षेत्रका लागि बर्ष २०७७ इतिहासकै कालो बर्ष बन्यो । कोरोना महामारीका कारण गतबर्षको फागुणदेखि नै सुस्ताएको चलचित्र क्षेत्र यो बर्ष नराम्रोसँग थलियो । चलचित्र प्रदर्शनका लागि तयार भएका निर्माता रिलिज मिति पोष्टपोन्ड गर्न वाध्य भए । वर्षभरी २ सय हारहारीका चलचित्र रिलिज गर्ने हलहरु सुनसान बने । जूमखबर संवादाता संगम अधिकारीले तयार पारेकाे रिपार्ट ।

मल्टिप्लेक्स हलमा लगानी गरेका निर्माता शशंकित हुने अवस्था आयो । धेरै सिंगल हलहरु अब उठ्न नसक्ने गरी थला परेका छन् । यो बर्ष प्रदर्शनको हिसाबले नेपाली चलचित्र क्षेत्र निकै निराशाजनक देखियो । यो बर्ष जम्मा ४ वटा चलचित्र मात्र रिलिज भए । तर, चारै चलचित्र हेर्न दर्शक हलसम्म आएनन् । अरु निर्माताले चलचित्र रिलिज गर्ने हिम्मत नै गर्न सकेनन् ।

हल खुलेपछि माघ १ गतेबाट मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ यो बर्षको पहिलो फिल्मको रूपमा रिलिज भयो । तर, यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धर लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक तान्न सकेन।

बर्ष २०७७ को दोस्रो रिलिज चलचित्र ‘गोर्खे’ थियो। चैत्र २१ गतेदेखि रिलिज भएको फिल्ममा रबिन्द्र प्रताप सेन, अञ्जली अधिकारी र अर्जुन गुरुङको मुख्य भुमिका थियो। यो फिल्म पनि सफल हुने आशा थियो तर, यो चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न सकेन । चलचित्रको चरम अभाव भैरहेको समयमा यी चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज त पाए । तर, दर्शकले चलचित्रप्रति रुची देखाएनन् ।

बर्षको अन्तिम शुक्रबार अर्थात चैत्र २७ गते बाट २ वटा नेपाली चलचित्र रिलिज भएका छन् । बर्षको तेस्रो र चौथो फिल्मको रूपमा ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज भएका हुन। कोरोनाका कारण लकडाउन हुँदाको कथामा बनेको ‘श्री’ मा कलाकारहरु सन्दिप क्षेत्री, बर्षा सिवाकोटी, बुद्धि तामाङ र रबिन्द्र झा आदिको मुख्य भूमिका रहेको छ। उता पहिले नै निर्माण भएको ‘गुड फ्रेन्ड’ फिल्ममा मुकेश ढकाल र सबिना कार्कीको अभिनय देख्न पाईन्छ।

यो बर्ष कोरोनाको कहरका कारण पनि नेपाली चलचित्रले निक्कै ठूलो घाटा व्यहोरेको छ । तर, कोरोनाको दोश्रो चरणको लहर सुरु भएका कारण पनि अर्को बर्ष पनि चलचित्र क्षेत्रको अवस्था के हुने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रदर्शन निराश तर छायांकन आशातीत

यो बर्ष चलचित्र प्रदर्शन नभएपनि निर्माताले हिम्मत भने हारेनन् । सस्तादेखि महंगो बजेटमा चलचित्र छायांकनको क्रम भने रोकिएन । कात्तिक १ गतेबाट सुचारु भएको चलचित्रको छायांकन आजका दिनसम्म पनि तेजका साथ अगाडि बढेको छ ।

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कात्तिक १ गतेबाट सुरु भयो । बाँकी रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन पनि कात्तिक १ बाट नै सुरु भएको थियो । यसपछि, ‘हिड्दा हिड्दै, कृष्णलिला, मनसँग मन’ लगायतका चलचित्रको छायांकन भयो । नाम चलेका ब्यानरहरुले पनि चलचित्रको छायांकन अगाडि बढाए ।

‘सम्हालिन्छ कहिले मन’को निर्माण टिमले दुई साता लगाएर दुबई पुगेर चलचित्रको छायांकन सकाएको थियो । चलचित्र ‘चिसो मान्छे, डिसेम्बर फल्स, कौसिक, गणपति, राधा, चुरीफुरी’ लगायतका चलचित्रको छायांकन पनि यही बर्ष सकियो ।

चलचित्र ‘प्रकाश र बिहे पास’को छायांकन धमाधम भैरहेको छ भने अन्य केही चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माता छन् । चलचित्र ‘अनन्त’को छायांकन शनिबारदेखि सुरु भएको छ । ‘कबड्डी ४, बाबरी, घिन्ताङ, मिरर’ लगायतको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माता लागेका छन् ।

यसरीहेर्दा, यो बर्ष चलचित्र प्रदर्शनका हिसाबले निराशाजनक देखिएपनि छायांकनका हिसाबले भने आशातित देखिएको छ । आउँदो बर्ष कोरोनाको जोखिम कम भएको खण्डमा चलचित्र रिलिजको सेड्यूल निकै व्यस्त हुने देखिएको छ । आशा गरौं अर्को बर्ष नेपाली चलचित्रको ब्यापार राम्रो हुनेछ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0